प्रचण्डले किन आक्रोश पोखे प्रधानमन्त्री ओलीको ट्वीटप्रति ?

मंगलबार, २५ बैशाख २०७५, १६ : २४
प्रचण्डले किन आक्रोश पोखे प्रधानमन्त्री ओलीको ट्वीटप्रति ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् । ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित भएको प्रचण्डको बुझाई छ ।

पार्टी एकताका लागि ओली र प्रचण्डबीच नियमित संवाद भैरहेका बेला यी दुई नेताबीच देखिने गरी आक्रोश पोखिएको छ । पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् । उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आएको हो ।

सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा ‘एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टीसँग बजेट निर्माणबारे कुनै छलफल छैन, सचिव सरुवामा छलफल नै छैन,’ प्रचण्डले भने, ‘दुई पार्टी एक हुन लागेको समयमा यसरी हुन्छ ? ट्वीटरमा के–के लेखेको पनि सुनेँ, अब यस विषयमा गम्भीर कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको बताएका थिए ।

ओलीले के लेखेका थिए ?
सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा  जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

 

प्रतिक्रिया दिनुहोस