ललितपुर मेयर महिला क्रिकेटः लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १३ : ०६
ललितपुर मेयर महिला क्रिकेटः लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा

काठमाडौं । एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स-११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन् । यस्तै, रोमा थापाले ११ रन बनाइन् । ललितपुरकी अनुराधा चौधरीले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुर निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो । ललितपुरकी सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान गरिन् ।  यस्तै, आरती बिडारीले २१ र कप्तान सरस्वतीकुमारीले नौ रन बनाइन् ।

एपीएफकी करुणा भण्डारी र सुमन विष्टले एक विकेट लिए । प्रतियोगितामा तीन खेल खेलेको एपिएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान तीन खेलमा पराजित ललितपुर तालिकाको पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस