एमाले एमसिसी पास गर्न र कांग्रेस सत्तागठबन्धन तोड्न तयार

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, २१ : २९
एमाले एमसिसी पास गर्न र कांग्रेस सत्तागठबन्धन तोड्न तयार

काठमाडौँ । नेकपा एमाले एमसिसी पास गर्न र कांग्रेस सत्तागठबन्धन तोड्न तयार भएका छन् । एमालेको सहयोगमा एमसिसी पारित गर्नकै लागि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्न तयार भएका हुन् । पाँच दलीय गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका हुन् । एमालले आफ्ना सर्तहरु पूरा भए एमसिसीमा सघाउन कांग्रेसलाई वचन दिएको छ । 

एमालेको समर्थनमा एमसिसी पारित गर्ने सहमति भए पनि भावी सत्ताबारे दुई दलबीच ठोस रुपमा कुरा मिलिनसकेको स्रोतले बतायो। देउवाले एमालेलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

त्यस्तै सभामुख अग्नि सापकोटालाई हटाउने विषयमा र माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने विषयमा समेत देउवा छलफल गर्न तयार भएको बुझिएको छ। तत्काल सभामुख हटाउन लाग्दा एमसिसी पारित गर्न ढिलाइ हुने भएकाले फागुन १६ भित्रै निर्णयमा पुग्न कांग्रेस एमाले करिबकरिब सहमत भएका छन्।

गठबन्धन तोड्न दबाब दिइरहेको एमालेको चाहनाअनुसार प्रधानमन्त्री देउवाले माओवादी र एकीकृत समाजवादीको साथ छाड्ने भएका हुन्। भित्री रुपमा सघन छलफलमा रहेका कांग्रेस र एमालेका नेताहरुबीच बिहीबार दुई चरणमा शीर्ष नेताहरुबीच भएको छलफलपछि गठबन्धन भत्किने चरणमा पुगेको हो।

दिउँसो संसद भवन नयाँ बानेश्वरमा देउवा र एमाले अध्यक्ष केपी ओलीले दोस्रा तहका नेताहरुसहित छलफल गरेका थिए भने सहमतिलाई अन्तिम रुप दिन एमाले नेताहरु बेलुका ७ बजे बालुवाटार पुगेका थिए। दिउँसो भएको छलफलपछि महामन्त्री गगन थापाले एमसिसी पारित गर्न सहयात्री दलले सहयोग नगर्ने भएपछि गठबन्धनको औचित्य सकिएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस