देउवा–ओली भेटघाट सहमतिनजिक

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १९ : १४
देउवा–ओली भेटघाट सहमतिनजिक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई फर्किएलगत्तै ओलीको गाडी प्रधानमन्त्री निवास छिरेको हो।

सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेटलाई निर्णायक मानिएको छ। बिहीबारको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताएका थिए।  यसअघि संसद भवनमा भएको छलफलका क्रममा ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे निर्णय लिन तयार रहेको देउवाले बताएका थिए। 

देउवाले अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको छलफलमा बताएका थिए। ​एमसीसी संसदबाट पारित गराउने विषय नेपालको अन्तराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएको पनि उनले वार्तामा जोड दिए थिए।

त्यसक्रममा ओलीले आफूहरुले उठाउँदै आएको माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीबारे प्रधानमन्त्रीले ठोस निर्णय लिनुपर्ने पनि बताएका थिए। ओलीले आफूहरु अन्यायमा परेको भन्दै कि त १४ सांसद हटाउन कि सभामुखलाई बिदा गर्न कांग्रेस तयार भएमा एमसीसीबारे निर्णय लिन तयार भएको उल्लेख गरेका थिए। स्रोतका अनुसार देउवा ओली वार्ता सहमतिनजिक पुग्न लागेको छ । 

प्रतिक्रिया दिनुहोस