आईसीसी टी२० विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १८ : ४७
आईसीसी टी२०  विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान

काठमाडौं । नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो । नेपालले ओमानविरूद्धको प्ले अफ खेल सजिलै ९ विकेटले आफ्नो पक्षमा पार्‍यो । ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गर्‍यो ।

ओपनर कुशल भुर्तेल ५५ र आरिफ शेख २१ रन बनाई अविजित रहे । कुशलले ५३ बल खेली ३ चौका र २ छक्का तथा आरिफले २७ बल खेली १ चौका प्रहार गरे । ओमान भ्रमणमा आसिफ शेखको कमजोर प्रर्दशन जारी नै रह्यो । उनी १५ रन बनाई ओमानका कप्तान जिशान मक्सुदको बलमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको घरेलु टोली ओमानले पुरा २० ओभर खेली ९ विकेट गुमाई ८७ रनमात्र बनाउन सकेको थियो । ओपनर जतिन्दर सिंहलाई दोस्रो ओभरमा २ रनमा रनआउट गरि नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । कश्यप प्रजापति ५, शोएब खान ३, मोहम्मद नदिम १ रनमै आउट भए ।

टस जितेर ब्याटिङ रोजेको ओमानविरुद्ध नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा आरिफ सेखले २ विकसेट लिँदै ओमानको ब्याटिङक्रम ध्वस्त बनाए । उनीहरूलाई सागर ढकाल, अभिनास बोहोरा र कमलसिंह ऐरीले समान १/१ विकेट लिएर साथ दिए ।

प्रतिक्रिया दिनुहोस