चितवनमा बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : ०७
चितवनमा बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

चितवन । भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका  सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले  सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो ।

केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ कुखुरासमेत नष्ट गरिएको उनले जानकारी दिए । सो फर्ममा तीन  खोर रहेका थिए ।

एउटा खोरमा २१ महिनाका एक हजार ५०० कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेका थियो । दोस्रोमा सात महिनाका दुई हजार ४०० कुखुरा राखिएकोमा मरेर २३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका पाँच हजार १०० कुखुरा राखिएकोमा मरेर पाँच हजार २७ बाँकी रहेको केन्द्रका प्रमुख डा. न्यौपानेले जानकारी दिए ।

केही दिनअघि  जिल्लाकै राप्ती नगरपालिका–६ मा रहेको अनिता पशुपन्छी कृषि फर्ममा बर्ड–फ्लुु देखिएको थियो । उनले जिल्लामा ठूलो सङ्ख्यामा कुखुरा भएकाले उच्च सावधानी अपनाउन कृषकलाई अनुरोध गरिएको बताए  । जिल्लाको पूर्वी र पश्चिम दुवै क्षेत्रमा बर्ड–फ्लुु देखिएपछि कृषकले उच्च सावधानी अपनाउन थालेका छन् ।  

प्रतिक्रिया दिनुहोस