प्रधानमन्त्री देउवाको एमसिसी पास गर्ने यस्तो रणनीति, कसरी पुग्छन् सांसद ?

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, २० : ०८
प्रधानमन्त्री देउवाको एमसिसी पास गर्ने यस्तो रणनीति, कसरी पुग्छन् सांसद ?

काठमाडौँ । आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।
प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमै एमसीसीका पक्षमा बहुमत जुट्ने आश मारेका छैनन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने देउवाको अपेक्षा छ ।

‘प्रधानमन्त्रीजी माधव नेपालको कुराबाट अझै अलमलेर बस्नुभएको छ । माधव नेपालले सकभर एमसीसीको पक्षमा मत दिनुहुन्छ,’ काँग्रेसका एक नेताले भने, ‘त्यो भएन भने पनि उहाँहरुले प्रचण्डको जस्तो एमसीसीको विपक्षमा मत हाल्न ह्वीप लगाउनु हुने छैन भन्ने प्रधानमन्त्रीलाई विश्वास छ ।’

एकीकृत समाजवादीका कम्तीमा पनि १०–११ जनाले एमसीसीको पक्ष मत दिने आँकलन देउवाको छ । प्रधानमन्त्री देउवा एकीकृत समाजवादीको भोट लिएर एमसीसी पारित गराउने पक्षमा छन् । माधव नेपाल आफैले प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्ने वातावरण मिलाउने बचन दिएको काँग्रेस नेताको दाबी छ ।

काँग्रेसका एक पदाधिकारीले भने, ‘एमसीसी पास गर्ने ढंगले म वातावरण मिलाउँछु, तपाईं धेरै नआत्तिनुस् भनेर माधव नेपालले भन्नु भएको छ । प्रधानमन्त्रीजी पनि त्यसैको भरमा हुनुहुन्छ ।’ ९–१० जना मन्त्रीले पनि एमसीसीको पक्षमा मत हाल्ने प्रधानमन्त्रीलाई बचन दिएको पाइएको छ । पर्यटनमन्त्री प्रेम आलेले त मन्त्रीसहित एकीकृत समाजवादीका १० जनाभन्दा बढी सांसद एमसीसी पक्षमा उभिने प्रधानमन्त्रीलाई विश्वास दिएको बालुवाटार स्रोतले भन्यो । 

स्रोतले भन्यो, ‘नेकपा एकीकृत समाजवादीमा माधव नेपालभन्दा प्रेम आलेसँग सांसद बढी देखिन्छन् । प्रेम आलेसँग १० जना सांसद होल्ड छन् ।’ गत असार ३ मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा पनि एमालेमा ओली निकट उनीहरुले विश्वासको मत दिएका थिए ।
यस्तै शहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि एमसीसीको पक्षमा मत दिने संकेत दिएको पाइएको छ । काँग्रेस नेताहरु अनुसार गठबन्धन भत्केको अवस्थामा माधव नेपालले आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाए पनि आले फर्किने मुडमा छैनन् । आलेले प्रधानमन्त्री देउवाबाट पनि बर्खास्त नहुने गरी लबिङ गरिरहेको बालुवाटार स्रोतको भनाइ छ ।
काँग्रेसले नेकपा एकीकृत समाजवादीसँगै जसपा नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबाट पनि एमसीसी पारित गराउने कुरामा निर्णायक योगदान रहने विश्वास छ ।

काँग्रेसको हिसाब अनुसार जसपामा बाबुराम भट्टराई निकट १०–११ जना सांसद एमसीसी पास गर्न साथ दिने खालका छन् । सत्ता गठबन्धनमा एमसीसीबारे देउवाको लाइनमा उभिएका भट्टराईले सिङ्गो जसपा नै पक्षमा उभिने बताएको काँग्रेस नेताहरुको भनाइ छ । अध्यक्ष उपेन्द्र यादवसहित केही सांसदले मत नदिए पनि जसपाको बहुमत पक्षले एमसीसीमा मत दिने विश्वास भट्टराईले देउवालाई दिलाएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १२ जना सांसद एमसीसीको पक्षमा उभिने काँग्रेसको दाबी छ । कांग्रेसले भनेअनुसार एमसिसीको पक्षमा सांसद उभिए भने एमसिसी पास हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस