स्थानीय तह निर्वाचन तयारी

रासस

बुधबार, ११ फागुन २०७८, १२ : ५०
स्थानीय तह निर्वाचन तयारी


काठमाडौं । जिल्ला निर्वाचन कार्यालय तनहुँले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारीस्वरुप कार्यालय अहिले मतदाता नामावली अद्यावधिकमा जुटेको छ । 

निर्वाचन घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित गरी आन्तरिक तयारीमा लागेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले  बताए। कार्यालयले दुई लाख ४८ हजार ४९३ जनाको नामावली निर्वाचन आयोगमा पठाएको छ । ती मध्ये एक लाख २८ हजार ५४२ महिला र एक लाख १९ हजार ९५१ पुरुष छन् । विगत एक वर्षको अवधिमा जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । सर्वसाधारणको सहजताका लागि प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ताको व्यवस्था मिलाइएको थियो । नागरिकता वितरणलगत्तै प्रशासन कार्यालयबाटै मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्थाले सर्वसाधारणलाई सहज भएको थियो ।

    कार्यालयले यही फागुन १९ गतेभित्र १० वटै स्थानीय तहमा मतदाता नामावली पठाउने तयारी गरेको छ । यसपछि दाबी विरोधको कामलाई अगाडि बढाइनेछ । विवरण सच्याउन, दाबी विरोध गर्न, नामावली हटाउने काम फागुन १९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ । चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गर्ने कार्यालयको तयारी छ । 

प्रतिक्रिया दिनुहोस