एमाले अध्यक्ष ओलीको गाडीमा ढुंगा हान्नेमाथि छानविन भइरहेको छ : गृहमन्त्रालय

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १९ : ५२
एमाले अध्यक्ष ओलीको गाडीमा ढुंगा हान्नेमाथि छानविन भइरहेको छ : गृहमन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गाडीमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको देखिएको भन्दै ध्यानकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेको जनाएको छ  ।

एमसीसीको विरोधका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली सवार गाडीमा आइतबार ढुंगा प्रहार भएको थियो ।  मन्त्रालयले प्रदर्शनको नाममा सामाजिक जीवनलाई अवरोध पुर्याउने कामहरु भएको भन्दै यसै क्रममा सांसदहरुलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएकाले त्यस्ता कार्य नगर्न सचेत गराएको छ । 

संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शन प्रति नेपाल सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको भन्दै मन्त्रालयले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुयाउने कार्य नगरिदिन  सम्बन्धित सबैमा अनुरोध गरेको छ । विज्ञप्तिमा सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको पनि उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस