कृषिमा सरकारको लगानी मात्र पर्याप्त हुँदैन : मन्त्री तामाङ

सोमबार, २४ बैशाख २०७५, १९ : ५७
कृषिमा सरकारको लगानी मात्र पर्याप्त हुँदैन : मन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कृषिमा सरकारको लगानी मात्र पर्याप्त नहुने बताएका छन् ।

बहुउद्देश्यीय एकीकृत कृषि परियोजना, सिन्धुपाल्चोकले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “नेपालका युवा स्वदेशभित्रै बसेर कृषिको काम गरे नेपाल आत्मनिर्भर बन्न सक्छ, देशभित्रै उनीहरुका लागि रोजगारीको अवसर प्राप्त हुन सक्छन् ।”

सो अवसरमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयका बीमा संयोजक कुन्दन सापकोटाले कृषि बीमा पशु बीमाभन्दा कठिन भएकाले कृषिसम्बन्धी बीमा उपलब्ध गराउन कठिन भएको बताए ।

राष्ट्रिय वाणिज्य बैंकका ऋण शाखा प्रमुख दिवाकर वशिष्ठले कृषि क्षेत्रको विकासका लागि कृषि विकास बैंकपछि वाणिज्य बैंकले सबैभन्दा बढी ऋण प्रवाह गरेको जानकारी दिए ।

सामूहिक खेतीबारे किसान र सम्बन्धित निकायलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजनाका प्रबन्ध निर्देशक विनोदकुमार लामिछानेले बताए ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ स्थित २०७१ सालदेखि शुरु भएको सो परियोजनाको अवधि १५ वर्ष छ । तीस घरधुरी संलग्न रहेको सो परियोजनाले रु १७ करोड पाँच लाख लगानी गरिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस