यथास्थितिमा एमसीसीलाई समर्थन गर्न सकिदैन: माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १२ : ५७
यथास्थितिमा एमसीसीलाई समर्थन गर्न सकिदैन: माधव नेपाल

वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् ।

वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको बताए ।

‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ । तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ,’ उनले भने ।

उनले सम्झौता मिति पर सार्दा उत्तम हुने बताए । ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ । कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ,’ उनले भने, ‘यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । तर आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिंदैन ।

प्रतिक्रिया दिनुहोस