रोटरीको खाद्यान्न वितरण कार्यक्रम

आइतबार, २३ बैशाख २०७५, १३ : २१
रोटरीको खाद्यान्न वितरण कार्यक्रम

रत्ननगर । नारायणगढ रोटरी क्लबले रोटरी अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२९२ अन्तर्गत जोन २० का एसिस्टेन्ट गभर्नर रोटरियन राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा गामबेसी चेपाङ्ग संरक्षण केन्द्र, मङ्गलपुर–१०, रत्ननगरमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सभापति तथा नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन नारायण प्रधानले उक्त केन्द्रमा वार्षिक रूपमा सहयोग प्रदान गर्दै आएकोमा आगामी दिनहरूमा खाद्यान्न अभाव महशुस हुन नदिन छुट्टै कार्ययोजना बनाएर अघि बढ्ने बताउनु भयो । प्रमुख अतिथि राजेन्द्रकुमार श्रेष्ठले जोन २० अन्तर्गतका ६ वटा रोटरी क्लबहरूमध्ये सबैभन्दा बढि युवा सदस्यहरू भएको नारायणगढ रोटरी क्लबले यो वर्ष सामाजिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्नुहुँदै गामबेसी संरक्षण केन्द्रका चेपाङ्ग बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
 

उक्त केन्द्रमा संरक्षित विद्यार्थीहरूका लागि आवश्यक स्कुल ब्याग, ड्रेस र स्टेशनरीका सामाग्रीहरूकासाथै नियमित रूपमा खाद्यान्नहरू समय सापेक्ष विगत केही बर्षहरूबाट क्लबले वितरण गर्दै आइरहेको क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले बताउनुभयो । कार्यक्रम संयोजक एवम् पूर्व अध्यक्ष सञ्जय श्रेष्ठले क्लबका सदस्यहरूको आन्तरिक सहयोगमा करिब असी हजार रूपैयाँ बराबरको खाद्य सामग्रीहरू वितरण गरिएको र सेवा गर्ने अवसर जुटाइदिनुभएकोमा उक्त संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो ।

नारायणगढ रोटरी क्लबले गामबेसी चेपाङ्ग संरक्षण केन्द्रमा आश्रित बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूका साथै खाद्यान्नहरू निरन्तर पूर्ति गर्दै आएको र स्थापनाको दश वर्षमा यति धेरै मात्रामा खाद्यान्न सहयोग प्राप्त गरेको पहिलो चोटि भएको केन्द्रका अध्यक्ष केपी किरण शर्भाले बताउनुभयो । हाल उक्त केन्द्रमा एकसय पच्चीस जना चेपाङ्ग बालबालिकाहरू आश्रीत रहेको र उनीहरूकालागि खाद्यान्नहरू अपुग भएको खबर प्राप्त हुनासाथ क्लबका मनकारी सदस्य साथीहरूको सहयोगमा छोटो समयमानै पचास बोरा चामल लगायत नुनु, तेल, आलु, प्याज, सोयाबिन मस्यौरा, भुजा, दाल र केराउ वितरण गर्न सकिएको कार्यक्रम सञ्चालक तथा पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठले जानाकारी दिनुभयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष रमेश श्रेष्ठ, निर्वाचित अध्यक्ष रमेश पौडेल, सदस्यहरू अञ्जुकृष्ण जोशी, देवमाया श्रेष्ठ, ज्ञानु श्रेष्ठ, गामबेसी संरक्षण केन्द्रमा अध्ययनरत विद्यार्थीहरू अध्ययनरत विद्यालयका प्रधानाध्यापक रामबहादुर मगर लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस