भेडाबाख्रालाई निःशुल्क पिपिआर रोगविरुद्धको खोप

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, २० : ५५
भेडाबाख्रालाई निःशुल्क पिपिआर रोगविरुद्धको खोप

मकवानपुर । बागमती प्रदेशका २४ लाख भन्दा बढी भेडाबाख्रालाई निःशुल्क रूपमा पिपिआर रोग विरुद्धको खोप लगाइने भएका छ। प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले प्रदेशका १३ जिल्लाका ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार २१७ बाख्रालाई निःशुल्क रूपमा पिपिआर रेग विरुद्धको खोप लगाइने भएको हो ।

प्रदेशभरका कृषकहरू लाभान्वित हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अभियानको रूपमा पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो । मन्त्रालयले सप्ताहव्यापी खोप अभियान व्यवस्थित एवं प्रभावकारी सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । प्रदेश भित्रका ११९ वटै स्थानीय तहका कृषकहरूले पालेका भेडा बाख्राहरूमा महामारीको रूपमा लाग्ने पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि भोलि मंगलबारबाट एक हप्ते पिपिआर रोग विरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । खोप अभियान फागुन २ गते सम्म चल्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए ।

बागमती प्रदेशमा नै पहिलो पटक सञ्चालन हुन लागेको पिपिआर विरुद्धको खोप अभियानका लागि भ्याक्सिनेटर नियुक्त गरी सबै स्थानीय तहहरूमा खोप केन्द्र पनि तोकिएको उनले बताए । संघीय सशर्त अनुदानमार्फत प्राप्त ११ लाख ९० हजार डोज पिपिआर विरुद्धको खोप एवं कुल १ करोड १९ लाख रुपैयाँ बजेटबाट प्रदेशभरका कृषकहरूले पालेका भेडा बाख्रामा लगाइने र त्यसका लागि आवश्यक तयारी पुरा भइसकेको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा रामप्रकाश प्रधानले बताए । उनका अनुसार भेडा बाख्राको सङ्ख्याका आधारमा खोपको मात्रा कम भए पनि अपुग खोप केही दिनमा नै खरिद गर्ने तयारी भइरहेको उनले बताए । खोप अभियानका लागि मन्त्रालयले १३ वटा जिल्लाका सबै स्थानीय तहमा गरी कुल १ हजार १३७ वटा खोप केन्द्र तोकेर ४६० जना भ्याक्सिनेटर समेत नियुक्त गरिसकेको छ ।

मन्त्रालयले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत् सबै स्थानीय तहसँग समन्वय गरेर नुवाकोटका लागि ८० वटा खोप केन्द्र र २९ जना भ्याक्सिनेटर, रसुवका लागि २८  खोप केन्द्र र ७ जना भ्याक्सिनेटर, दोलखाका लागि १२१ खोप केन्द्र र ४० जना भ्याक्सिनेटर, सिन्धुपाल्चोकका लागि २८ वटा खोप केन्द्र र ६ जना भ्याक्सिनेटर, सन्धुलीका लागि २८ वटा खोप केन्द्रका लागि २४ जना भ्याक्सिनेटर, रामेछापका लागि ४० वटा खोप केन्द्र र ४४ जना भ्याक्सिनेटर, काठमाडौँका लागि ३८ वटा खोप केन्द्र र ३८ जना भ्याक्सिनेटर, ललितपुरका लागि ३० वटा खोप केन्द्र र ३० जना भ्याक्सिनेटर, भक्तपुरका लागि १२ वटा खोप केन्द्र र १२ जना भ्याक्सिनेटर, काभ्रेका लागि १०७ वटा खोप केन्द्र र ५५ जना भ्याक्सिनेटर, चितवनका लागि ४४ खोप केन्द्र र ३८ जना भ्याक्सिनेटर, मकवानपुरका लागि ४९६ वटा खोप केन्द्र र ८८ जना भ्याक्सिनेटर, धादिङका लागि ८५ वटा खोप केन्द्र र ४९ जना भ्याक्सिनेटर नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस