मिसेस नेपाल युनिभर्स सन्तोषीलाई ‘मिसेस युनिभर्स करिज्मा’ उपाधि

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, १७ : १५
मिसेस नेपाल युनिभर्स सन्तोषीलाई ‘मिसेस युनिभर्स करिज्मा’ उपाधि

काठमाडौ । गत सातामात्र मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि चुमेकी सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाइटल हासिल गरेकी छन्।

अघिल्लो शुक्रबारबाट दक्षिण कोरियाको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरूले भाग लिएका थिए। जसमा नेपालबाट सन्तोषीले भाग लिएकी थिइन्।

हिजो भएको मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले ‘मिसेस युनिभर्स करिज्मा’ सब टाइटल हासिल गरेकी छन्।

आफूले हासिल गरेको यो उपाधिलाई अर्को एउटा सफलताको रुपमा लिएको सन्तोषीले बताएकी छन्। बेलायतमा बस्दै आएकी सन्तोषी मिसेस युनिभर्सको ग्रान्ड फिनाले सकेर हिजै राति नै बेलायत फर्किएकी छन्।

लन्डन फेसन हाउसले आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट मिसेस नेपाल युनिभर्स २०२४ को ताज चुमेकी सन्तोषी नेपालबाट अघिल्लो बिहीबार मिसेस युनिभर्समा गएकी थिइन्।

‘यसपटकको मिसेस युनिभर्समा मैले नेपाललाई चिनाउने र एउटा सब टाइटल पनि जित्ने अवसर पाएँ। कार्यक्रममा धेरै कुराहरु सिक्ने अवसर पनि मिल्यो’ उनले भनिन्।

अन्तर्राष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिव समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहँदै आएकी छिन्। उनी ८ वर्षको छोराको आमा पनि हुन्। लन्डनको एक विश्वविद्यालयमा प्रध्यापनसमेत गरिरहेकी सन्तोषीले लन्डनमै रेष्टुरेन्ट व्यवसाय समेत सञ्चालन गर्दै आएकी छन्।

मिसेस नेपाल युनिभर्सकी आयोजक मनिषा डंगोल श्रेष्ठले पनि सन्तोषीको यो सफलताप्रति खुसी व्यक्त गरेकी छन्।

‘थुप्रै देशका महिलाहरू मिसेस युनिभर्सबाट खालीहात फर्कनु परेको अवस्थामा सन्तोषीले एउटा उपाधि जित्नु पनि हाम्रो लागि खुसीको कुरा हो’ मनिषाले भनिन्।

प्रतिक्रिया दिनुहोस