आजको मौसम : अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

शुक्रबार, २१ माघ २०७८, ०८ : ३२
आजको मौसम : अधिकांश स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाले आज २४ घन्टामा देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ र असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने उनीहरुले जानकारी दिए। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र असिना पर्ने तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस