काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एक सिट जितेर क्लिनस्विप हुनबाट नेकपा एमाले जोगिएको छ । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।
तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् । बाँकी १८ पदमा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन भएका १९ पदमा एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । तर यो निर्वाचनबाट एमालेले ८ मध्ये एक पदमात्रै जोगाउन सकेको छ भने ७ पद गुमाएको छ । ७ पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।
राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् । तर अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । अब ७ गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ ।
यससँगै माओवादी केन्द्रले १५ सिट पुर्याएको छ भने कांग्रेसले १० सिट पुर्याएको छ । त्यस्तै, एकीकृत समाजवादीले ८ र जसपाले ३ सिट पुर्याएका छन् । राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा पुगेको हो । लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । प्रदेश १ मा महिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन् ।
यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह ९गरिमा० निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए ।
राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य छन् । बाँकी १९ पदका लागि निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ माघ २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
कीर्तिपुरमा जसपा नेपालबाट तेस्रो लिङ्गी उम्मेदवार
कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनको उम्मेदवारी
बझाङमा उम्मेदवारलाई चुनाव चिह्न प्रदान
उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न प्रदान गरिने
उपनिर्वाचन : उम्मेदवारको नाम आज सार्बजनिक गरिने