बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, ०८ : ३५
बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका २ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र  ३८ वर्षीया महना लुहारको  ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए । 

अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो ।तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन । 

घटना गत शुक्रबार भएपनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् । डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए ।

मृतकको आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको छ ।  मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् । 

प्रतिक्रिया दिनुहोस