नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्री देउवाको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, २० : २६
नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध उच्च सतर्कता अपनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हो, जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्छ भनेर प्रधानमन्त्रीज्यूले निर्देशन गर्नुभयो, त्यहीअनुसार हामीले केही योजनाहरू बनाएका छौँ,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले  भने ।

मन्त्री खतिवडाका अनुसार खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू भएका छन् ।

बैठकले देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्थापन चुस्तदुरुस्त राख्ने लगायत निर्णयहरू गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस