धरानमा देउवाको दुई मिनेट !

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १९ : ४६
धरानमा देउवाको दुई मिनेट !

धरान । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् । धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताए ।  करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचनसमेत दिए । 

उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको उल्लेख्य सुधारको पक्षमा सरकार रहेको बताए ।  त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए । साथै उनले पार्टीमा एकता भए मात्र सरकार पनि बलियो हुने बताए । 
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । अब पनि धरानमा कांग्रेसलाई जिताउन लागि आग्रह गरेका थिए । देउवाले भने, ‘धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने थियो, हाम्रो मेयरले जितिसक्नु भयो । अब पार्टी एकताको सुरुवात पनि धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु । ’

सबैको सहयोगले पार्टी सभापति भएको खुलाउँदै देउवाले यो कार्यकाल आफ्नो अन्तिम भएको पनि बताए । उनले पार्टीलाई एक बनाउने दायित्व आफ्नो भएको पनि बताए । देउवाले भने,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन । एक बनाउने दायित्व मेरो हो, र स्वार्थ पनि त्यही हो ।’
उनले नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटनसमेत गरे । त्यस्तै फोहोर मैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कको अवलोकन गरेका छन् । धरान स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो । 

प्रतिक्रिया दिनुहोस