मुगु । छायाँनाथ रारा नगरपालिकाका अपांगता भएकाहरूले परिचयपत्र बनाइ दिन माग गर्दै एक वर्षअघि दिएकाे निवेदनमाथि अझैसम्म सुनुवाइ भएकाे छैन । उनीहरूले परिचयपत्र अभावमा राज्यबाट पाउने सुविधाहरूबाट बन्चित हुनु परेकाे भन्दै आव २०७७/०७८ मै परिचयपत्नका लागि निवेदन दिएकाे बताएका छन् । ११२ जनाले निवेदन दिए पनि नगरपालिकाले सामान्य छनबिन समेत सुरू नगरेकाे उनीहरूकाे दुखेसाे छ ।
छाँयानाथ रारा नगरपालिका-१२ बालचौरका रत्नबहादुर बिककाे बाल्याकालदेखि नै दुबै हात चल्दैन । उनलाई बोल्न पनि समस्या छ । पछि अलि ठूलाे भएपछि फेरि लड्दा हात पनि भाँचियाे । अहिले उनी राम्रोसँग हिड्डुल र बोल्न नसक्ने उनकी आमाले बताइन् । उसलाई परिचयपत्र दिए अलि अलि भए पनि सरकारले भत्ता दिने हुँदा रेखदेखमा सहज हुने रत्नबहादुरकी आमाले गुनासाे गरिन् । उनले भनिन्, 'नगरपालिकामा अपाङ्ग परिचयपत्र पाउँ भनेर सबै कागज पत्रसहित निवेदन दिएको एक वर्ष भयाे ।अहिलेसम्म परिचयपत्र पाइएकाे छैन ।'
छायाँनाथ रारा नगरपालिका-१ घाटकी अपांगता भएकी सुजाता मल्लले पनि अहिसम्म राज्यबाट पाउने कुनै पनि सेवासुविधा पाउन सकेकी छैनन् । उनका बुबा पदम मल्लले अपांगता परिचयपत्रका लागि एक वर्षअघि नै नगरपालिकामा निवेदन दिएका थिए । तर, अहिलेसम्म नगरपालिकाले साेधखाेजसमेत गरेकाे छैन ।
छायाँनाथ रारा नगपालिकामा मात्रै हाेइन मुगुकाे सोरु, खत्याड र मुगु कामारोङ्ग गाउँपालिकामा समेत यस्ताे समस्या वर्षाैदेखि छ । परिचय पत्रको लागि धेरै पटककाे छलफलपछि छाँयानाथ रारा नगरपालिकाले दुई चरण गरेर 'क' नम्बरको परिचय पत्र चार जना, 'ख' वर्गको १५ जना, 'ग' वर्गको १२ जना, 'घ' वर्गका २५ जनागरी ५६ जनाले परिचय पत्र पाएकाे जनप्रतिनिधिहरूले बताएका छन् । अझै ११२ जनाले परिचय पत्र पाउन सकेका छैनन् ।
अपाङ्ग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था डार्डो नेपाल मुगुका अध्यक्ष सक्कबहादुर बुढाका अनुसार सबैलाई परिचयपत्र दिन माग भइरहेकाे छ । गाउँमा सिंहदरवार आए पनि नागरिकहरूले अझै सेवा सहजै पाउन नसकेकाे उनकाे भनाइ छ । अपाङ्गता परिचय पत्र वितरण संयोजक तथा छायाँनाथ नगर उपप्रमुख सुन्तला रोकायाले अब केही दिनमै सबैले परिचयपत्र पाउने बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्लाबाहिर गएका कारणा ढिला भएकाे र अबको एक साताभित्रै अपांगता परिचयपत्र दिने उनले प्रतिबद्धता जनाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँकेमा ७ हजार ७ सय ४५ राष्ट्रिय परिचयपत्र वितरण