सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

सफल खबर संवाददाता

मंगलबार, २९ माघ २०८१, १० : ११
सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार ८३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । 

राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए । 

 उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । 

अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको छ । जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार ८८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताए । 

तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्् । १५ हजार ८३८ परिचयपत्र प्रशासनमै रहेको उनले बताए । 

परिचयपत्र लिन स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको संख्या न्यून भएको हो । परिचयपत्र वितरणका लागि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । परिचयपत्र चाङ लाग्दा भण्डारणमा समस्या भएको जनाइएको छ ।
 
राष्ट्रिय परिचयपत्रविरुद्धको सर्वोच्चको रिट खारेजीको निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ । 

प्रतिक्रिया दिनुहोस