काठमाडौँ । खोटाङका ज्येष्ठ नागरिक आन्तरिक तिर्थाटनमा निस्किएका छन् । असोज २०७५ मा मुक्तिनाथसम्म पुगेर दर्शन गरेका ज्येष्ठ नागरिकको टोली शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दुधकुण्ड देउधामको तिर्थाटनमा निस्किएका हुन् ।
ज्येष्ठ नागरिक संघको बन्दोबस्तमा तीनवटा बस रिजर्भ गरेर ज्येष्ठ नागरिकको टोली दिक्तेलबजारबाट भुलभुले दुधकुण्ड देउधाम पुगेका हुन् । कोभिडको महामारीका कारण दुई वर्षसम्म घर बाहिर निस्कन नपाएका ज्येष्ठ नागरिकलाई घुमफिर र फ्रेस गराउनका लागि भुलभुले दुधकुण्ड देउधाम लगिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३२ जना ज्येष्ठ नागरिकको टोली भुलभुले दुधकुण्ड देउधाम पुगेर दर्शन, भ्रमण एवं पूजाआजा गरेका छन् । ज्येष्ठ नागरिकले भुलभुले दुधकुण्ड देउधाममा नाचगान गर्दै रमाइलो गरेका छन् । ज्येष्ठ नागरिक मादल, डेक माइकसहित तिर्थाटनमा निस्किएका थिए । कतिपय वृद्धाले भुलभुले दुधकुण्ड देउधाममा संगीनी गाउँदै नाचेका थिए ।
कतिपय ज्येष्ठ नागरिकले श्लोक बाचन गरेर सुनाएका थिए । तिर्थाटनको रहर हुँदाहुँदै घर बाहिर निस्कन नपाएका बृद्धबृद्धा भुलभुले दुधकुण्ड देउधाम पुग्दा उत्साहित भएका छन् । भुलभुले दुधकुण्ड देउधाम पुग्ने लामो समयदेखिको सपना पुरा भएको दिक्तेलकी वृद्धा मनमायाँ आचार्यले बताइन् ।
ज्येष्ठ नागरिकले भुलभुले दुधकुण्ड देउधाममा दर्शन गर्नुका साथै बुढानिलकण्ठ, पोखरीबिचमा राखिएको यलम्बरको मुर्ती, जलपादेबीको मन्दीर, सात ढुंगे धाराबाट छल्किरहेका पानी, पानीको मुहानमा खेलीरहेका असला माछा लगायतको दृश्यावलोकन गरेका छन् ।
२०७५ मा ज्येष्ठ नागरिकको टोली धनुषाको जानकी मन्दिर, तनहुँको देवघाट, लुम्बिनी, म्याग्दीको गलेश्वरधाम, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी, गुप्तेश्वर महादेव मन्दिरको दर्शन एवं भ्रमण गरेर १० दिनमा घर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० पुस २०७८, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा