काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।
क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।
राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने जनाइएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ मंसिर २०७८, ०८ : १९
लेखकबाट थप