काँग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार छान्न पौडेल र सिटौला पक्ष छलफलमा

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, २० : १९
काँग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार छान्न पौडेल र सिटौला पक्ष छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक सुरु भएको छ । राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ।  

नेता गगन थापाले आजको बैठकबाट सभापतिको उम्मेदवार टुंग्याइने बताए । बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ । सभापतिमा प्रकाशमानले कुनै पनि हालतमा ब्याक नहुने बताएपछि काँग्रेसको पौडेल समूहमा तनाव छ ।

यस्तै शेखरले पनि दावी नछाडेपछि नेताहरुले हस्तक्षेप गरेर पौडेललाई नै उम्मेदवार तय गर्नेबारे पनि छलफल भइरहेको छ। यस्तै, नेपाली काँग्रेसको कृष्ण सिटौला समूह आन्तरिक छलफलमा जुटेको छ । केन्द्रीय महाधिवेशनमा शेरबहादुर देउवासँग सहकार्य गर्ने रणनीतिमा रहेका सिटौला पार्टी महाधिवेशनको उद्घाटनसत्र सकिएसँगै भृकुटीमण्डप क्षेत्रमा आन्तरिक छलफलमा जुटेको हो । 

आफ्नो समूहबाट चुनावी प्रक्रियामा सहभागी हुने नेताहरुको नाम टुंगो लगाएर सिटौलाले देउवासँग फाइनल छलफल गर्ने बुझिएको छ। सिटौलाले महामन्त्रीको रुपमा प्रदीप पौडेललाई अघि सारेका छन् भने उनले आफूलाई साथ दिनेहरूलाई स्थापित गरिछाड्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस