मतदान गरेपछि प्रचण्डले भने समृद्धिको यात्रा सुरु भयो

विहीबार, २१ मंसिर २०७४, ०७ : ३७
मतदान गरेपछि प्रचण्डले भने समृद्धिको यात्रा सुरु भयो

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनबाट मतदान गरेका छन् । चितवनको शिवनगरस्थित शान्तिपुर आधारभुत प्राविबाट मतदान गरेका हुन् । उनी बिहान ७ बजे नै केन्द्रमा पुगेका थिए । उक्त केन्द्रबाट प्रचण्डले नै पहिलो मतदान गरेका थिए । मतदानपछि उनले प्रदेश र संघको मतदान गर्दा गर्वको महसुस भएको बताए ।

उनले अब समृद्धि र विकासको यात्रा सुरु भएको बताए । देशमा राजनीतिक स्थायित्वको वातावरण सिर्जना भएको उनले बताए । “पहिलो आधार भनेको राजनीतिक स्थायित्व सुरु हुँदैछ । कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न पाएन । अहिले पहिलोपटक त्यो स्थिति पैदा हुँदैछ,” प्रचण्डले भने, “जसको भए पनि बहुमत आउँछ तर यसपटक वामपन्थीको नै आउँछ ।”

उनले दुवै गठबन्धन नेपालको लागि शुभ संकेत भएको बताए ।
“दुवै गठबन्धन नेपालको लागि शुभ संकेत हो,” उनले भने, “पार्टी एकता पनि हुन्छ । निर्वाचनपछि हुन्छ भनिएको छ । एकता प्रकृयाबाट कोही चिन्तित हुनै पर्दैन । कांग्रेससँग पनि सहकार्य आवश्यकता छ भन्ने मान्यता राख्दै आएको छु । हिजो पनि प्रधानमन्त्री र रामचन्द्रजीसँग छलफलमै थिएँ ।”

प्रतिक्रिया दिनुहोस