काठमाडौं । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिएका छन् । काँग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सो अवसरमा नेता कवेँले भने, ‘काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको हुँ । नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा म उम्मेदवारी दिन्नँ । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगरप्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीनवटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।’
कार्यक्रममा काँग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३ औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, काँग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए । यसअघि काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, ०८ : ०४
लेखकबाट थप