तिब्बतमा ४.४ म्याग्निच्युड माथिका ५०० परकम्प मापन गर्दा ४०० जनाको उद्धार

एजेन्सी

बुधबार, २४ पुस २०८१, ११ : १३
तिब्बतमा ४.४ म्याग्निच्युड माथिका ५०० परकम्प मापन गर्दा ४०० जनाको उद्धार

काठमाडौं । तिब्बतमा भूकम्पका कारण फसेका झन्डै ४०० जनाको उद्धार गरिएको छ । भूकम्पको दोस्रो दिनसम्म आइपुग्दा ३० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।भूकम्पबाट तिब्बतको शिगात्से क्षेत्रका तीनहजार ६०९ घर नष्ट भएको अनुमान गरिएको रोयटर्सले जनाएको छ । यस क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि ५०० भन्दा बढी उद्धारकर्मी र १०६ एम्बुलेन्स तैनाथ गरिएको छ ।

भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको छ । यस्तै, १८८ जना घाइते भएका छन् ।गए राति उच्च हिमाली क्षेत्रको तापक्रम –१८ डिग्री सेल्सियसम्म झरेको थियो । अत्यधिक चिसोका कारण भूकम्पपीडितलाई थप समस्यामा पारेको थियो ।

चीन सरकारले मंगलबार नै भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, विद्युतीय जेनेरेटरसहितका सामग्री पुर्‍याइसकेको छ । त्यस्तै, भत्किएका सडकहरू मर्मतपछि पुनःसञ्चालनमा ल्याइएको छ ।

चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार, बुधबार बिहानसम्म ४।४ म्याग्निच्युडका ५०० भन्दा धेरै परकम्प गएका छन् ।नेपाली समय अनुसार, मंगलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का नेपाल, भुटान र भारतमा पनि महसुस गरिएको थियो । तर, यी क्षेत्रमा मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस