चितवन । चितवनको इच्छा कामना गाउँपालिकास्थित कुरिनटारमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । निजी लगानीमा निर्माण सम्पन्न भएको चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो ।
दिगो ग्रुप कम्पनीले पृथ्वी राजमार्गमा चल्ने विद्युतीय सवारी साधन चार्ज गर्ने उद्देश्यले कुरिनटारमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको हो ।कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको यो दोस्रो चार्जिङ स्टेसन हो ।
कम्पनीका अनुसार कुरिनटारमा निर्माण गरिएको सबस्टेसनको डिसी फास्ट चार्जरको आइतबार उद्घाटन गरिएको छ । १२० किलोवाट क्षमताको चार्जिङ स्टेसनमा अहिले ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरी सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा विद्युतीय सवारीको संख्या थपिँदै गएपछि चार्जिङ स्टेसनको क्षमता पनि बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।
पृथ्वी राजमार्गमा चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत खपत बढ्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले बताए । चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिई सञ्चालनमा ल्याइएको छ । यो चार्जरले पृथ्वी राजमार्गमा चल्ने डिबिटी ब्राण्डको विद्युतीय सवारी साधनलाई सेवा दिने कम्पनीले जानकारी दिएको छ।
कम्पनीको पहिलो चार्जिङ स्टेसन विपि राजमार्गमा सञ्चालनमा छ । कम्पनीले राजमार्गामा चल्ने विद्युतीय सवारी चार्ज गर्ने उद्देश्यले गत भदौमा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको हो।
काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरू सञ्चालनमा छन् । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ ।
सरकारले आन्तरिक विद्युत खपत बढाउने नीति लिएर विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सक्रियता बढ्दै गएको छ । विद्युत प्राधिकरणले पनि देशका विभन्न स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।
अबको ६ महिनाभित्रमा यी चार्जिङ स्टेसनहरू निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदै छन् । विद्युत प्राधिकरणले निजी क्षेत्रका लागि समेत देशभरमा ५ सय चार्जिङ स्टेसन निर्माण गर्न आवेदन मागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ मंसिर २०७८, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा सहकारीले निर्माण गर्यो चार्जिङ स्टेसन
‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा