उत्तर कोरियाका लागि यो कदम आत्मघाती पनि हुनसक्छ !

एजेन्सी

शुक्रबार, १४ बैशाख २०७५, २० : ३०
उत्तर कोरियाका लागि यो कदम आत्मघाती पनि हुनसक्छ !

एजेन्सी । उत्तर र दक्षिण कोरियाबीच शीर्ष वार्ता हुनु अघिदेखि नै विश्वमा एउटा गम्भीर र महत्वपूर्ण विषयमाथि सबैको ध्यान तानिइरहेको थियो । विश्वलाई चूनौती दिइरहेको उत्तरकोरियाको आणविक परीक्षण र ती कदमलाई एक्कासि रोकेर उत्तरले अमेरिका र  दक्षिण कोरियासँग वार्ता गर्न किन तयार भयो ? दक्षिण कोरियासँग शीर्ष वार्ता गर्नु अघि (बुधबार) चीनका एक भूगर्भविदले उत्तर कोरियाले आणविक परीक्षण गर्दै आएको सबैभन्दा महत्वपूर्ण क्षेत्र (आणविक प्लान्ट) मा निकै ठूलो क्षति भएको रिपोर्ट सार्वजनिक गरे ।

जहाँबाट यसअघि एकैपटक पाँच परमाणू परीक्षण समेत गरिएको थियो । चिनियाँ भू–गर्भविदलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले लेखेका छन्ः ‘यसअघि भएको विशाल आणविक परीक्षणबाट प्राप्त ४.१ तीव्रताको झड्काले सो क्षेत्रको चट्टानी भागलाई नष्ट गरिदिएको छ र सो क्षेत्र अब आणविक परीक्षणका लागि कामै नलाग्ने अवस्थामा पुगेको छ । चिनियाँ  विज्ञान र प्रविधि विश्वविद्यालयसँग जोडिएका ती भू–गर्भविद,जसले सार्वजनिक गरेको रिपोर्टअनुसार सो क्षेत्रबाट रेडियो विकिरण चुहिने खतरा समेत त्यत्तिकै छ, जसको असर भयावह हुनसक्छ ।

रिपोर्टका अनुसार ध्वस्त भएको क्षेत्रबाट अब कुनै पनि शक्तिशाली आणविक परीक्षण गर्न सकिंदैन । यही आणविक परीक्षण स्थलबाट उत्तरकोरियाले सन् २०१७ को सेप्टेम्बरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । जसका कारण ६.३ रेक्टर स्केलको भूकम्प समेत गएको थियो ।

यसका कारण चीनको उत्तरी सीमा र जापानसम्मका भू–भागमा कम्पन आएको भू–गर्भविदहरुले दाबी गर्दै आएका छन् । उत्तरकोरियाले यो परिघटनालाई आफ्नो मुलुकको प्रतिरक्षाका लागि हाइड्रोजन बमको परीक्षण गरेको दाबी गरेको थियो । उसले चालेका आणविक परीक्षणका कदममाथि विश्वभर आलोचना हुँदै आएको छ । यसैलाई आधार मानेर संयुक्त राष्ट्रसंघले सो मुलुकमाथि नाकाबन्दी समेत गरिरहेको छ ।

उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्ने निर्णय सार्वजनिक गर्नु केही महिनाअघि नै आफ्नो मुलुकले अब आणविक परीक्षण गर्न जरुरी नरहेको वक्तव्य सार्वजनिक गर्नु र चिनियाँ विशेषज्ञ टोलीले सार्वजनिक गरेको पछिल्लो रिपोर्टलाई आधार मान्ने हो भने उत्तरकोरिया कमजोर भएको होकि भन्ने आशंका गर्न सकिन्छ तर त्यसका लागि प्रशस्त आधारहरु भेटिएका छैनन् ।
दुई कोरियाबीच शुक्रबार शिखर वार्ता सम्पन्न भएको छ । उक्त वार्तामा निकै महत्वपूर्ण समझ्दारीहरु समेत भएका छन् ।

उत्तरकोरियाका सर्वोच्च नेता किन जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच भएको यस भेटवार्ता र दुई दशेबीचको सम्झौताले अमेरिकी राष्ट्रपतिसँग हुने भनिएको भेटवार्ताका लागि मार्गप्रशस्त भएको समेत सञ्चारमाध्यामहरुले जनाइरहेका छन् ।

किमले कुनैबेला उत्तर र दक्षिण कोरिया एउटै राष्ट्र हुनसक्ने समेत बताएका छन् । यसले सन् १९५३ देखि टुक्रिएका दुई कोरियालाई एकै ठाउँमा ल्याउने संकेतमात्र दिएको छैन, विश्वको नजर तानेको कोरियाली प्रायदिपको अन्तरदेशीय द्वन्द्वले शान्ति प्रक्रियाको चरणमा फड्को मारेको संकेत समेत दिएको छ तर प्राविधिक रुपमा उत्तरकोरियाले क्षति ब्यहोरेको विषय थप पुष्टि हुँदै गएमा त्यो उसका लागि आत्मघाती सावित हुनसक्ने समेत आँकलन गरिदैछ ।  -दैनिक भास्करबाट अनुवाद

प्रतिक्रिया दिनुहोस