गुजरातमा ५ हजारभन्दा बढी किसानहरुले सरकारसँग मागे इच्छामृत्यु

एजेन्सी

विहीबार, १३ बैशाख २०७५, १८ : ४३
गुजरातमा ५ हजारभन्दा बढी किसानहरुले सरकारसँग मागे इच्छामृत्यु

गुजरात । गुजरातको भावनगर जिल्लाका ५००० भन्दा बढी किसानहरुले सरकारी विद्युत निगमले गर्न लागेको भूमि अधिकरणको विरोधमा संघर्ष गरिरहेका छन् । यी किसान परिवारले अधिकारीहरुलाई चिठ्ठी लेखेर इच्छामृत्युको माग गरेका छन् । किसान संगठनका एक नेताले यस्तो दावी गरेका हुन् ।

किसानहरुको अधिकारको लागि संघर्ष गर्ने एक संगठन ‘गुजरात खेदुत समाज’का सदस्य तथा स्थानीय किसान नरेन्द्र सिंह गोहिलले दावी गरे, “यो कदमबाट प्रभावित हुने १२ गाउँका किसान र तिनका परिवारका सदस्यहरु जोडेर कुल ५२५९ मानिसहरुले इच्छामृत्युको माग गरेका हौँ । हाम्रो खेतीवारी गर्ने जमिनलाई प्रदेश सरकार र गुजरात बिजुली निगम लिमिटेडले जबरजस्ती खोस्दैछन् ।”

उनीहरुले यी किसानहरु र तिनका नातेदारहरुद्वारा हस्ताक्षरित यो पत्रलाई भारतका राष्ट्रपति, प्रधानमन्त्री र गुजरातको मुख्यमन्त्रीलाई पठाएका छन् । भावनगरको जिल्लाधीश हर्षद पटेलले किसानहरुले इच्छामृत्यु माग गरेको भनिएको पत्रलाई कलेक्ट्रेटको रजिस्ट्री शाखामा हालेको बताएका छन् ।

पत्रमा किसानहरुले आफूहरुले बर्षौदेखि खेती गरिरहेको जमिनबाट राज्य सरकार र जीपीसीएलले प्रहरीको बल प्रयोग गरेर हटाउन लागेको आरोप लगाएका छन् । किसानहरुले बिजुली कम्पनीले अधिग्रहण गरेको २० वर्षभन्दा बढी समयपछि अब आएर जमिन कब्जा गर्न लागेको बताएका छन् । उनीहरुले यस्तो कार्य कानूनको विरुद्ध भएको बताए ।

गोहिलले भने, “भूमी अधिग्रहण ऐन २०१३ अनुसार कुनै पनि कम्पनी त्यो भूमी कब्जा गर्न सक्दैन जसलाई उनीहरुले पाँच वर्षभन्दा अघि अधिग्रहण गरेका थिए । यस्तो भूमी कब्जा गर्नको लागि कम्पनीलाई नयाँ अधिग्रहणको प्रक्रिया शुरु गर्नुपर्छ ।” “दुबै अवस्थामा प्रहरीले किसानहरुको शान्तिपूर्ण भेलामा अश्रु ग्यास हानेको छ । हामीलाई धम्की दिइँदैछ,” गोहिलले आरोप लगाए ।

किसानहरुले पत्रमा आफूहरुलाई जबरजस्ती भूमीबाट हटाउन बल प्रयोग गरिदा आतङ्कवादी भएको अनुभव भएकोले सेनाबाट गोलीबाट मारिनुपर्ने माग गरेका छन् । किसानहरुले पत्रमा भनेका छन् “हामी इच्छा मृत्युको माग गर्छौँ किनकी अधिकारीहरुद्वारा हामीलाई आतङ्कवादीको जस्तो व्यवहार गरिँदैछ । यसैले  सेनाको हातबाट हामीलाई मारियोस् भन्ने हाम्रो अन्तिम इच्छा छ ।”

प्रतिक्रिया दिनुहोस