एमसीसी संशोधन नगरी पारित हुँदैन : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, २० : २०
एमसीसी संशोधन नगरी पारित हुँदैन : प्रचण्ड

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् ।  प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।

देउसी खेल्न खुमलटारस्थित निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए ।

‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’

प्रतिक्रिया दिनुहोस