काठमाडौं उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, ०९ : १८
काठमाडौं उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ । समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटिभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् ।

यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटिभीमा हुने दाबी गरेको छ । कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।

४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । '८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,' कम्पनीले भनेको छ, 'सामानको अभाव छैन । कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।'

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटिभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसीटिभी आवश्यक रहेको औँल्याएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस