किमाथाङका नाकालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १९ : ४०
किमाथाङका नाकालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री शर्मा

सङ्खुवासभा । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर संचालन गरिने बताउनु भएको छ । प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताए । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनँले व्यक्त गरे ।

संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए । त्यस्तै अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युत् नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाए । अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस