बँदेलसंग ठोक्कियो उडान भर्न लागेको सिता एयरको जहाज

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ०९ : ३७
बँदेलसंग ठोक्कियो उडान भर्न लागेको सिता एयरको जहाज

नेपालगञ्ज । सिता एअरको जहाजसँग नेपालगंज विमानस्थलमा तीन वटा बदेल ठोक्किएका छन् । नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको जहाज बँदेलसंग ठोक्किदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ भने ठोक्किएका बदेल टुक्रा टुक्रा भएका छन् ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान करिव ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।

धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभुती भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए । जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताए । बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान बन्द गरिएको थियो ।

बँदेल ठोक्किएपछि विमानस्थलको धावन मार्गमा रहेको रगत पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ, भने यात्रु आफ्नो घरतिर लागेको झाले बताए । विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस