सल्यानमा ५४ मतदानकेन्द्र अति संवेदनशिल

बुधबार, २० मंसिर २०७४, १२ : २८
सल्यानमा ५४ मतदानकेन्द्र अति संवेदनशिल

सल्यान । सल्यानमा बिहिबार (भोलि) हुन लागेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका १८० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतको कर्मचारी टोलि खटिसकेको छ ।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री पनि सम्बन्धित क्षेत्रमा पुगिसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताए । उनका अनुसार सल्यानमा १४ सय ३८ कर्मचारी निर्वाचनका लागि परिचालित छन् । मतदान केन्द्रबाट बुधबार पनि मतदाता परिचयपत्र वितरण हुने मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताए । उनका अनसार सबै मतदान केन्द्रमा मतदानस्थल निर्माण कार्य चलिरहेको छ ।

सल्यानमा तीन पदका लागि २२ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रतिनिधिसभाका लागि ८ जना चुनावी मैदानमा छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रवन्ध मजबुत पारेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त र भरपर्दो पारिएको बताए । स्थानीय तहको भन्दा झण्डै दोब्बर सुरक्षाकर्मी परिचालन भएका छन् ।’
जिल्ला प्रशासनले सल्यानका ५४ मतदान केन्द्रलाई अति संवेदनशिलको सूचीमा राखेको छ । सबै मतदान केन्द्रमा सञ्चार सम्पर्क हुन नसक्ने भएकोले सुरक्षाकर्मीकै सेटमा भर पर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस