दक्षिण कोरियामा जन्मदर घट्दो

विहीबार, १३ बैशाख २०७५, १३ : १८
दक्षिण कोरियामा जन्मदर घट्दो

सोल । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् ।
फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ । एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका छन् ।

सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सवै भन्दा धेरै घटेको तथ्याङ्क हो । सन् २०१५ को डिसेम्बरदेखि गत फेबु्रअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ ।
ढिला विवाह र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् । विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्ष भन्दा १९ हजार वा ११.६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ ।
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस