बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

रासस

आइतबार, १४ कार्तिक २०७८, १० : ५२
बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी । यहाँका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ ।  बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन ।  

पानीले ढुवाएका  धान उम्रिन थालेको दिपायल सिलगढी नगरपालिका–४ का किसान सुरज विकले जानकारी दिए । वर्षाले परालसमेत झिजाएकाले गाई, भैँसीलाई समेत उक्त पराल खुवाउन नसकिने अवस्थामा रहेको उनको भनाइ छ । खेतमा भिजेका परालमा समेत ढुसी लागेकाले वस्तुभाउलाई खुवाउन नमिल्ने अवस्थामा भएको शिखर नगरपलिका–२ का रतन कामीले बताए ।

उक्त वर्षासँगै बाढी–पहिराका कारण जिल्लामा कम्तीमा पनि रु एक करोड मूल्य बराबरको कृषिखेतीमा मात्रै क्षति पुगेको कृषि ज्ञान केन्द्र सिलगढीले जनाएको छ । केन्द्रका अनुसार समथर अर्थात् मैदान क्षेत्र रहेका यहाँका कतिपय ठाउँका खेतमा अझै पानी नसुकेको र पानी निकास नहुँदा काटिएका धानसमेत डुबानमै परेका छन् । पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली वर्षासँगैको बाढीले नष्ट गरेपछि यस वर्ष जिल्लामा ठूलो भोकमरी हुने जनाउँदै किसान चिन्तित बनेका छन् ।

वर्षाले धानलाई झार्नुका साथै बोटसमेत ढालेर बगाएका कारण पशु चौपायालाई समेत के खुवाउने भन्ने चिन्ता थपिएको जोरायल–४ का पदमबहादुर बोहराले बताए । उनले भने, “हामी त मागेर वा केही काम गरी पेट पालौँला, तर पालिएका पशु चौपायालाई हिउँदभरि के खुवाउने अब मङ्सिरबाट हिउँ पर्छ झन समस्या ।” बाढी–पहिराले बगाएका यहाँका अधिकांश ठाउँका सडक अझै खुलाउन सकिएको छैन । कतिपय ठाउँमा नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएका कारण सडक सञ्चालन गराउनका लागि निकै समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय दिपायल कुलपातेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस