बोलीवचन सभ्य बनाउन महानिरीक्षकको निर्देशन

रासस

बुधबार, १० कार्तिक २०७८, २१ : ३९
बोलीवचन सभ्य बनाउन महानिरीक्षकको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीलाई बोलीवचन तथा व्यवहार उत्कृष्ट बनाउन निर्देशन दिए ।

इलाका प्रहरी कार्यालय (ख) लुक्लाको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरीक्षक क्षेत्रीले जनभावनाको कदर, प्रविधिमैत्री प्रहरी सेवामा संवेदनशील भएर लाग्न निर्देशन दिएका हुन् ।

सोलुखुम्बुको खुम्बु क्षेत्रमा विश्वभरिबाट पर्यटक आउने भएकाले उनीहरूको सुरक्षाप्रति सजग बन्नुपर्नेमा जोड दिँदै उहाँले शान्तिसुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताए । यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीमा नयाँ सोच र योजना निर्माण गर्दै प्रभावकारी सेवामा प्रहरी कर्मचारी अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

नेपाल सरकारको रु दुई करोड ६६ लाख ३३ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको आज एक कार्यक्रमका बीच महानिरीक्षक क्षेत्रीले उद्घाटन गरेका थिए । यस्तै बिहीबार इलाका प्रहरी कार्यालय नाम्चेमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कबित कटवाल, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही र खुम्बु पासाङल्हामु गाउँपालिका कार्यबाहक अध्यक्ष टासी ल्हामु शेर्पा लगायतको उपस्थिति थियो ।

सोही कार्यक्रमका अवसरमा निर्माण व्यवसायीद्वय विजय तामाङ र नाम्गेल शेर्पालाई सम्मान गरिएको छ । निर्माणको क्षेत्रबाट पु¥याएको योगदानको कदर गर्दै महानिरीक्षक क्षेत्रीले उनिहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस