प्रधानन्यायाधीश राणाको एकल इजलासबाट पाँचवटा निवेदनमाथि सुनुवाइ, अन्य न्यायाधीश इजलासमै गएनन्

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १३ : २३
प्रधानन्यायाधीश राणाको एकल इजलासबाट पाँचवटा निवेदनमाथि सुनुवाइ, अन्य न्यायाधीश इजलासमै गएनन्

काठमाडौँ । राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आफ्नो एकल इजलासबाट मुद्दाको सुनुवाइ गरी दुई मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन्।

प्रधानन्यायाधीश राणाले आफ्नो एक इजलास तथा संवैधानिक इजलाससहित ११ वटा इजलास गठन गरेका थिए। अरु न्यायाधीशहरु छलफलको लागि भन्दै इजलासमा गएका छैनन्। प्रधानन्यायाधीश राणाले भने आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमाथि सुनुवाइ गरेका हुन्।

उनले दुई मुद्दामा कारण देखाउ आदेश जारी गरे। यस्तै एक मुद्दा तामेलीमा राखेका छन्। यसैगरी एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश गरेका हुन्।

प्रधानन्यायाधीश राणाको इजलासबाट लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको हो। यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवेदन फिर्ता लिने आदेश गरेका हुन्।

यसैगरी ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्कीविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी भएको हो।

प्रधानन्यायाधीश राणाले कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस