संयुक्त राज्य अमेरिका । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो । ट्रम्पले उक्त सम्झौतालाई भङ्ग गरिदिने भनेर दिदैँ आएको धम्कीलाई कार्यान्वयन गरे त्यसको गम्भीर परिणामहरू हुने रुहानीले बताउनुभएको छ ।
विश्व शक्ति राष्ट्रहरु र इरानबीच सन् २०१५ मा परमाणु कार्यक्रमबारे एक सम्झौता भएको थियो । जस अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । सम्झौतापछि इरानविरुद्ध लगाइएका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए ।
फ्रान्सका राष्ट्रपति म्याक्रोँले ट्रम्पलाई सो सम्झौताबाट पछि नहट्नका लागि दबाब दिने ठानिएको छ । रुस तथा चीन दुवैले यसका लागि निरन्तर समर्थन पनि जनाइरहेका छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा भएको सम्झौतालाई ट्रम्पले सधै “खराब सम्झौता” भन्दै आउनुभएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस