कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १० : ५४
कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको विद्युतीय भुक्तानी माध्यम कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार भएको छ । घटस्थापना (आश्विन २१) देखि एकादशी (आश्विन ३०) भित्र उक्त प्रणालीमार्फत ९ अर्ब २० करोड रुपैयाँ बराबर कारोबार भएको हो । उक्त कारोबार अघिल्लो वर्षको दसैँको तुलनामा ३१७% ले वृद्धि भएको एनसीएचएलले जानकारी दिएको छ ।

नेपाली संस्कृतीसँग जोडिएको दसैँका बेला नगद लेनदेन निकै बढ्छ । अन्य चाडपर्वमा पनि नगद लेनदेन उल्लेख्य मात्रामा हुने गरेपनि दसैँका बेला यसको आकार निकै बढ्ने गर्छ । बैंक वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्ने गरेको छ ।

कनेक्ट आईपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाइल एप, वेब तथा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिन्क गर्नुपर्ने हुन्छ भने मोबाईल बैंकिङ्गमार्फत छुट्टै रजिष्टर बिना सीधै प्रयोग गर्न सकिन्छ ।   

चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आईपीएसको मोबाइल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म निःशुल्क गरिएको एनसीएचएलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस