यस्ता आक्रमणले प्रजातन्त्रिक प्रक्रिया रोकिँदैन : असरफ घानी

सोमबार, १० बैशाख २०७५, १८ : ४२
यस्ता आक्रमणले प्रजातन्त्रिक प्रक्रिया रोकिँदैन :  असरफ घानी

अफगानिस्तान । अफगानस्तिानका राष्ट्रपति असरफ घानीले हिंसात्मक आक्रमणले प्रजातन्त्रिक प्रक्रिया नरोकिन बताउनु भएको छ । आगामी अक्टोबर २० मा हुन गइरहेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि लाइनका लागेका नागरिकलाई लक्षित गरी एक सरकारी कार्यालय अगाडि आत्मघाती आक्रमण भएपछि उहाँको सो भनाइ आएको हो ।

स्थानीय समयानुसार आइतबार बिहान १०ः१० मा भएको यस आत्मघाती आक्रमणमा परी कम्तीमा ५७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मारिएका व्यक्तिहरुमा महिला र बालबालिका पनि परेका छन् । आफ्ना आमासँगै लाइनमा बसेका ती बालबालिकाहरु समेत मारिएका बताइएको छ । इस्लामिस्ट स्टेट्स ( आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको यस आक्रमण भएको स्थानमा सिया मुसलमान समुदायको बाक्लो बसोवास रहेको बताइएको छ ।

आक्रमणकारीले अन्य नागरिक जस्तै गरी उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका सर्वसाधारण लक्षित आक्रमण गरेका थिए । यस आक्रमणमा घाइते भएका कैयौ व्यक्तिको अवस्था चिन्ताजनक भएकोले मृतक सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउँदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो । अफगाननिस्तानमा तालिवान र आइएस आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो । निर्वाचन बिथोल्नको लागि भएको यस्ता आक्रमणले प्रजातान्त्रिक प्रक्रिया नरोकिने बताउनु हुदै यस आक्रमणको राष्ट्रपति घानीले कडा शब्दमा निन्दा गर्नुभएको छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस