देउवा पक्षले भन्यो– कांग्रेस महाधिवेशनको मिति सार्ने सहमति

सफल खबर संवाददाता

बुधबार, २० असोज २०७८, १९ : २९
देउवा पक्षले भन्यो– कांग्रेस महाधिवेशनको मिति सार्ने सहमति

काठमाडौँ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले नेपाली काँग्रेसको महाधिवेशन मिति सार्ने सहमति भएको बताएको छ ।  काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । 

काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित  मिति केही पर सार्ने समझदारी भएको देउवा पक्षका काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 

उनका अनुसार महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी कुराकानी भएको र अन्तिम निर्णय गर्न बाँकी रहेको बताए ।  काँग्रेसको हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन । बैठकमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस