गलैंचा उद्योगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १७ : २४
गलैंचा उद्योगका  मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।

नेपाल गलैचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए । लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको गलैचा उद्योगहरु क्रमिक रुपमा खुम्चिदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफुलाई दुःख लागेका सुनाए । 

जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए । अखिल नेपाल गलैचा मजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङलगायतले नेपाल  सरकारले तोकिएको न्युनतम ज्याला कार्यान्वयन नहुनु, श्रमिकलाई मेरो श्रमिक हो भन्ने कुनै आधार प्रमाण नदिनु, परिचय पत्रको व्यवस्था नगर्नु, श्रम ऐन कानुनले दिएको अधिकारबाट बन्चित गराइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस