बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु

आइतबार, ०९ बैशाख २०७५, ०९ : ३२
बन्दूकधारी समूहको आक्रमणमबाट नाइजेरियामा कम्तिमा ३० गाउँलेको मृत्यु

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा एक सशस्त्र लुटेराहरूको समूहले बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गरेका आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

लुटेराहरूको समूहले मारू ग्रामिण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ । स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारी अनुसार लुटेराहरूको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउलेहरू ज्यान जोगाउन भागेर अन्यत्र गएका थिए भने कतिपय प्रतिकार गर्नेक्रममा गोली लागि मृत्यु भएका थिए ।

शुक्रबार सुरक्षाकर्मी पुगेपछि लुटेराहरू भागेर सुरक्षित स्थलतर्फ लागेका बताइएको छ । “आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ,” गुसाउमा गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो ।

प्रहरीले तीनजना संदिग्ध अपराधीलाइ नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । उक्तस्थानमा यही अप्रिल ११ गते लुटेराहरूको एक समूहले पनि आक्रमण गरेको थियो । जसमा दर्जनौँ नागरिकको ज्यान गएको थियो । जाम्फारामा यस बर्षको शुरूदेखि अहिलेसम्म विभिन्न एक दर्जनभन्दा बढी गाउँमा सशस्त्र लुटेराको समूहले आक्रमण गरिसकेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस