उपत्यकाबाट ५१ मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ०८ बैशाख २०७५, १५ : ०५
उपत्यकाबाट ५१ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५८ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको नदी क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

रोयल सहकारीले आफ्नो २१ औँ वार्षिकोत्सव वाग्मती सफाइ गरेरै मनाएको छ । ठकुरी समाजका पदाधिकारी एवं सदस्य पनि सफाइमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । सफाइमा नायिका एवं वाग्मती सफाइ दूत मनिषा कोइराला, अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष नरेन्द्रराज बस्नेत, डा प्रज्ज्वलमान श्रेष्ठलगायत अभियन्ता सक्रिय हुनुहुन्थ्यो ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २१९ औँ हप्ताको कार्यक्रम मुहान अर्थात् सुन्दरीजलदेखि नै शुरु भएको छ । सुन्दरीजल क्षेत्रमा कुहिने फोहर, नकुहिने र पुनःप्रयोग हुनसक्ने चीजबीजलाई छुट्याएर राखिएको सफाइ अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । पुनःप्रयोग हुने चीजबीज यससम्बन्धी काम गर्नेलाई निःशुल्क दिइने उहाँले बताउनुभयो ।
सफाइमा पुडासैनी मैत्री समाज, ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ लगायत स्थानीयवासी गरेर १०० भन्दा बढीको सहभागिता थियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । गुह्येश्वरीमाथिको सफाइ अभियान गोकर्णेश्वर महादेव मन्दिरमाथिको भागमा सफा गर्न गएको यो पहिलो पटक हो ।

रुद्रमती सफाइको २१३ औँ हप्तामा रातोपुलबाट कमलपोखरीसम्म जनचेतनामूलक सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए ।

तिलगंगा खण्डको वाग्मती सफाइको १६१ औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सो अवसरमा घर घरमा गएर जनचेतनामूलक अभियान समेत गरिएको थियो । विष्णुमती सफाइ अभियानको १८५ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिकाको सीमास्थित मनमैँजु पुल क्षेत्र सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले बताउनुभयो ।
सफाइमा १२० भन्दा बढी अभियन्ताको सहभागिता थियो । कार्यक्रममा अभियन्तालाई ज्याकेट पनि वितरण गरियो । मनोहरा सफाइको ५७ औँ हप्तामा महानगरपालिका–३२ स्थित जडीबुटी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले सुनाउनुभयो ।

चक्रपथ सफाइको ५४ औँ हप्तामा आज गौशालाबाट तिलगंगासम्म सफाइ गरियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका ५० भन्दा बढी टहरा भत्काइयो ।
चक्रपथ सफाइमा द्वन्द्वमा परी घाइते र अपांग भएका उपस्थित भई सिटी बजाउने र मास्क वितरण गर्न सहयोग गरेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । सहभागीलाई पूर्व स्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले सम्मान गर्नुभयो ।

सफाइमा महिलाको सहभागिता उल्लेख्य रहेको अभियन्ता सिर्जना रुपाखेतीले बताउनुभयो । चक्रपथ सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाइएको छ । काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ५४ औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टबिन व्यवस्थापन, गाँजाको बोट उखल्नेलगायत सफाइ अभियान सञ्चालन ग¥यो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिनुभयो ।
चक्रपथ बाफल खण्ड सफाइको ३६ औँ हप्तामा स्यूचाटार पुलबाट सोल्टीमोडसम्म सफाइ गरी १५मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा मिस नेवा इञ्जिनियर जुनु तोयना लगायत ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस