तीन वर्षसम्म शाखा अधिकृतको नतिजा प्रकाशन नगरेपछि परीक्षार्थी आन्दोलित

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १४ : ३८
तीन वर्षसम्म शाखा अधिकृतको नतिजा प्रकाशन नगरेपछि परीक्षार्थी आन्दोलित

काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका छन् ।

सोमबार लोकसेवा आयोगको कार्यालय अगाडि ६ सय ३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरूले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन् ।

परीक्षार्थीले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् । प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए ।

परीक्षार्थीले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । उनले लोकसेवा आयोगले सबै परीक्षा सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए ।

प्रदर्शनकारी परीक्षर्थीले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थी डिप्रेशनको सिकार भइरहेको बताएका छन् । उनीहरूले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस