भीम रावल : आफ्नै निर्णयले आफै अप्ठ्यारोमा

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, ०९ : ००
भीम रावल : आफ्नै  निर्णयले आफै अप्ठ्यारोमा

काठमाडौं । १० वुँदे सहमति कार्यान्वयन हुने र पार्टी २०७५ जेठ २ मा फर्किदासम्म माधव नेपालले अनाहकमा पार्टी विभाजन गरेको भन्दै अन्तिम समयमा माधव नेपाललाई समेत धोका दिएका उपाध्यक्ष भीम रावल अहिले पार्टीभित्रै अप्ठ्यारोमा परेका छन् । 

ओलीले माओवादी नेतृत्वमा रहेको सुदुरपश्चिम प्रदेश सरकार गिराउन एमाले सांसदलाई सरकारबाट फिर्ता आउन स्थायी समिति बैठक बोलाएर निर्देशन नै गरेपनि भीम रावलले तत्काल सरकारबाट फिर्ता नहुने अडान लिईदिए । 

ओलीले जति जोरवल गरेपनि अन्तत सुदुरपश्चिममा ओलीको योजना विफल भयो । त्यसपछि एमालेभित्र सबैले भन्न थाले, सुदुरपश्चिममा भीम रावलको पकड राम्रै रहेछ ।

तर अन्तिम समयमा रावलले माधव नेपाललाई साथ छोडिदिए । एकाएक रावल युटर्न भई ओलीसँग जसरी पनि मिल्नुपर्ने पक्षमा उभिन थाले उनको सुदुरपश्चिममा देखिएको पकड गुम्दै जान थाल्यो । ओली प्रधानमन्त्री रहँदै एक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर रावलले ओलीसँग भेट गरेका थिए ।

त्यसवेला उनलाई ओलीले एमालेमा आफुपछिको भरपर्दो उत्तराधिकारीहरु नरहेको, संगठनमा वरु अरुको भन्दा रावलको पकड पनि देखिएको र एमालेमा अध्यक्षको लाइनमा रावल बलियो र सशक्त उत्तराधिकारी रहेको र आफुले त्यसका लागि सहज बाताबरण निर्माण गर्ने आश्वासन दिएपछि रावल एकाएक युटर्न भए । 

उनी ओलीसँग मिल्न थाले । कार्यदल ब्यूताउने नाममा माधव नेपाल समुहको प्रतिनिधत्व गरेपनि उनले ओलीको कारिन्दाको रुपमा ओलीले चाहेका निर्णय लिन थाले । ओलीले एमालेबाट माधव नेपाललाई वाहिर राख्ने र अरु नेताहरुलाई विभिन्न नाममा एमालेभित्रै थामथुम पारेर राख्ने योजना बनाएका थिए । त्यही योजनामा रावलले ओलीलाई साथ दिए ।

त्यसपछि एमालेभित्रको राजनीतिक परिदृश्य यस्तो देखियो, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु नेकपा एकीकृत समाजवादी गठन गर्न पुगे । रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेपाल समुहमा रहेका नेताहरु एमालेमै रहे । 

एमालेमा रहेका नेताहरुले सेफल्याडिडका लागि १० वुँदे सहमति कार्यान्वयन भएको र पार्टी जस्ताको तस्तै एमाले २०७५ जेठ २ मा फर्किएको बताए । 

तर अहिले उनै भीम रावल अप्ठ्यारोमा परेका छन् । उनले माधव नेपाल समुहछोडेर ओलीसँग मिल्न गएपछि सुदुरपश्चिममा उनको पकड गुमेको छ । उनकै गृहजिल्ला अछामका पार्टी जिल्ला अध्यक्ष सम्मले पनि रावलको साथ छोडेका छन् । सुदुरपश्चिम प्रदेश सभामा उनको देखिएको पकड खुस्किएको छ ।

पहिलो दल रहेको रावलको पार्टी एमाले त्यहाँ चौथो स्थानमा झरेको छ । वरु माधव नेपालकै पार्टी नेकपा एकीकृत समाजवादी पहिलो दल बनेको छ । पहिलो दलका रुपमा एमालेमा नै सांसद टिकाउन नसकेको र कमजोर पकड ओलीको देखिएपछि ओलीले पनि रावललाई ठेगान लगाईदिने नीति लिएका छन् ।

जेठ २ कार्यानवयनमा आएको भए रावल सुदुरपश्चिम प्रदेश इन्चार्ज हुने थिए । तर यो वीचमा ओलीले माओवादी छोडेर एमाले भएका लेखराज भटटलाई प्रदेश इन्चार्ज बनाएका थिए । 

आइतबार बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज नदिने बताएका थिए । बालकोटमै रावललाई बोलाएर ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै कायम रहने भन्दै इन्चार्ज रावललाई नदिने बताएपछि उनी अहिले अप्ठ्यारोमा छन् । 

अब ओलीसँग निहु खोज्यौ।, आफैले १० वुँदे कार्यान्वयन भएको र एमाले जेठ २ मा फकिर्एको प्रचार गरिएको छ, नखोज्यौं, ओलीले सुरुमै आफ्नै पद खोसेका छन् । यसले रावल अप्ठ्यारोमा छन् । 

रावलले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन । पत्रकारसँग पनि उनी तर्किदै हिडेका छन् । तर उनले आफु निकट नेताहरुको बैठक भने राखेका छन् । 

रावलले आफूनिकट सुदूरपश्चिमका सांसद, केन्द्रीय सदस्य तथा अगुवा कार्यकर्ताहरूसँग छलफल गरेका छन् ।  छलफलमा रावलले दस बुँदे कार्यान्वयनमा इमानदारिता नदेखिएको बताएका थिए । उनले जस्तोसुकै अवस्थामा पनि पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

दस बुँदे कार्यान्वयन हुन्छ भन्नेमा हामीलाई विश्वास त पहिला पनि लागेको थिएन । तर अब झनै शंका बढेको छ,  ती नेताले भने, रावल जत्तिको नेतालाई त पुरानो जिम्मेवारीमा फर्किन संघर्ष गर्न परेको छ भने तल्ला तहका नेता कार्यकर्ताको के हालत होला ?