अफगानिस्तान । अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् । अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा खटिएका प्रहरी रहेका छन् ।
अपहरणकारीहरूले कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काजगपत्रहरूमा आगजनीसमेत गरेको समाचारमा जनाइएको छ । अफगानिस्तानको घोर प्रान्तमा रहेको एउटा कार्यालयमा बन्दुकधारीहरूले मंगलबार आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा आउँदो अक्टोबर २० तारिखका दिन संसदीय निर्वाचन हुन लागेको छ ।
“मतदाताहरूको नाम दर्ता गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले अलियार जिल्लामा रहेको स्वतन्त्र निर्वाचन आयोगको कार्यालयमा आक्रमण गरेर कर्मचारीहरूलाई अपहरण गरेका छन्”, प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद इक्वाल निजामीले एएफपीसँग भन्नुभयो । सरकारी अधिकारीहरूले घटनामा तालिवानी लडाकूहरू संलग्न भएको आरोप लगाएका छन् ।
प्रवक्ता निजामीले अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारीहरू र दुईजना प्रहरी रहेको जानकारी दिनुभयो । घटनाका बारेमा तत्काल अनुसन्धान शुरु गरिएको र घटनामा संलग्न तथा अपहरितहरूको खोजी अभियान चलाइसकिएको उहाँले जानकारी दिनुभयो ।(रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस