विवाहको गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु, १२ जना घाइते

बुधबार, ०५ बैशाख २०७५, १७ : ०८
विवाहको गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु, १२ जना घाइते

नयाँदिल्ली । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रक नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनी ट्रक खसेको हो । गएराति भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्, एक अधिकारीले भने ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गर्नुभयो ।

दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको छ । भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ । भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस